बाराको तामागढी–सिम्रौनगढ सडक योजना निर्माण पूरा भएको लामो समय बित्दा पनि अधिग्रहण भएको जग्गाको मुआब्जा नदिएको भन्दै प्रभावित स्थानीयको आन्दोलन जारी राखेका छन्।
तामागढी सिम्रौनगढ सहयोग तथा मुआब्जा संर्घष समितिका अध्यक्ष अनवर अन्सारीलगायतका व्यक्तिहरू आन्दोलनरत छन्। अध्यक्ष अन्सारीले काठमाडौँको माइतीघर मण्डलामा आइतबार पनि आफ्नो आमरण अनसन जारी राखेका छन्। 
उनले मुआब्जा प्राप्तिका लागि माग राख्दै अनसन सुरु गरेको १०५ दिन भइसकेको बताए। उनले सरकारले जग्गा अधिकरण गरेको बापत दिनुपर्ने क्षतिपूर्ति अझैसम्म पनि नदिएको र आश्वासन मात्र दिने गरेको बताए।
भारत सरकारको अनुदानमा नेपालमा १० वटा बनेको बाटो ९ वटालाई मुआब्जा दिइसकेको तर तामागढलाई भने झुटो आश्वासन मात्र दिएको कारण अनसन बसिरहेको बताए। करिब ६५ देखि ७० बिघा जग्गा बराबरको दुई अर्ब ९७ करोड ७८ लाख ४० हजार ६ सय २५ रुपैयाँ बराबरको मुआब्जा स्थानीयले पाएका छैनन्।
उनले भने, ‘हाम्रो जग्गा अधिकरण गरिएको छ। त्यो बापत सरकारले हामीलाई क्षतिपूर्ति अझै सम्मपनि दिएको छैन। सुरुमा आश्वासन दिइयो, पैसा तपाईँहरूले नियमले पाउने हो भन्यो। तर आजसम्म झुक्याएर सरकारले राखेको छ। एक सुक्का पनि अहिलेसम्म दिएको छैन। भारत सरकारको अनुदानमा बनेको बाटो हो। नेपालमा १० वटा बाटो बन्यो, त्यसमा ९ वटालाई मुआब्जा दिइसक्यो तर हाम्रो तामागढको अहिलेसम्म पाएको छैन। झुटो आश्वासन हामीले पाएको छौँ। त्यसैले अनसन बसेको हौँ।’
३९।७५ किलोमिटर लम्बाइको यो सडक दक्षिणमा भारतीय सीमाको दशगजादेखि उत्तरतर्फ महेन्द्र राजमार्गको निजगढ–काठमाडौँ ‘फास्टट्रयाक’ जोड्ने महत्त्वपूर्ण सडक हो।
साबिकको १२ वटा गाविस र अहिले सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका, बारागढी गाउँपालिका र आदर्श कोतवाल गाउँपालिका गरी चार वटा पालिकाअन्तर्गत पर्ने यो सडक सात मिटर चौडाइको छ।