महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले समाजसेवा विकासोन्मुख देशका लागि मेरुदण्ड भएको बताएका छन्। 

आइतबार सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषद्ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुडीले समाज सेवामा नागरिकहरुको आकर्षण नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्न परिषद्ले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

उनले भने, ‘समाजसेवा विकासोन्मुख देशका लागि एउटा मेरुदण्ड हो। समाजको सेवा र रूपान्तरण सभ्यताको प्रतीक हो। हामी सबै जना समाजका एक अंश हौँ। समाज हाम्रो मूल्य र मान्यताको धरोहर हो। समाजसेवामा नागरिकहरुको आकर्षण अनि नयाँ पुस्तालाई समाजसेवाप्रति अभिप्रेरित गर्नका निम्ति समाज कल्याण परिषद्ले समाजसेवा दिवस मनाउने गरेको हो। यो दिवस सबै सामाजिक सङ्घ संस्था एवं समाजसेवीहरूको राष्ट्रिय पर्वको रुपमा विकसित हुँदै जानुपर्दछ भन्ने विश्वास लिएको छु।’

‘सामाजिक सङ्घ संस्थाहरू समाजप्रति उत्तरदायी र जबाफदेही हुने हुँदा हाम्रा काम कारबाही प्रस्ट र पारदर्शी बनाउने प्रयास गर्नुपर्दछ। समाज कल्याण परिषद्ले समाजसेवाको अझै वैज्ञानिक र प्रभावकारी रुपमा अनुगमन र मूल्याङ्कन गर्नेगरि गैरसरकारी सङ्घ संस्थाहरूका कार्यहरूलाई अझै व्यापक र व्यवस्थित बनाउनुपर्दछ,’उनको भनाइ थियो। 

उनले सरकारले परिषद्लाई थप जिम्मेवार बनाउन समाज कल्याण परिषद्को संरचना अधिकारको बाँडफाँटसहित सङ्घ, प्रदेश र स्थानीय तहहरूसम्म विस्तार गर्ने गरी समाज कल्याण ऐनलाई समसामयिक परिमार्जन र संशोधनको तयारी गरिरहेको उल्लेख गरे। 

एकद्धार नीतिअनुसार समाज कल्याण परिषद्बाट संघसंस्थाहरुमा नियमन, सहजिकरण प्रभावकारी अनुगमन हुने गरी कार्यसञ्चालन र व्यवस्थापन हुने उनको विश्वास छ।