मोरङमा ससुराको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन्।

पथरी शनिश्चरे नगरपालिका-७ मायालु चोक बस्ने चन्द्रबहादुर तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकै ज्वाइँ रवीन्द्र राईलाई नियन्त्रणमा लिएको हो। रवीन्द्र चन्द्रबहादुरका आफ्नै ज्वाइँ हुन्।

धनकुटाको मूलघाटबाट राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। 

ज्वाइँ-ससुरा एकै घरमा बस्ने गरेका थिए। चन्द्रबहादुरको हत्या भएपछि ज्वाइँ रवीन्द्र फरार थिए। घरेलु हतियारले घाँटी रेटिएको अवस्थामा शव भेटिएको थियो।

घरको प्यासेजमा लडेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। ज्वाइँ रवीन्द्र सुत्ने गरेको कोठाबाट प्रहरीले रगत लतपतिएका कपडाहरू बरामद गरेको थियो।

प्रहरीका अनुसार चन्द्रबहादुरकी श्रीमती वैदेशिक रोजगारीका लागि देश बाहिर छिन्। अहिले चन्द्रबहादुरको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ।