नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ दल भन्दा पनि नयाँ प्रवृत्ति हुनु आवश्यक रहेको बताएका छन्। शनिवार काँग्रेस झापा–काठमाडौँ सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सहकारी ठगी प्रकरणमा नयाँ दलका अध्यक्ष आरोपी भएर पनि बचाउन खोजिएको बताएका हुन्।
उनले नयाँ दलको अध्यक्षलाई सहकारी ठगीको  आरोप लाग्दा पनि दलकाहरुले हाम्रो अध्यक्षमाथि छानबिन गर्न हुँदैन भनिरहँदा त्यो दल कतिको सक्षम होला भन्दै प्रश्न उठाए। उनले पुरानो दल काँग्रेसका उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगीको आरोप लागेकाले छानबिन गर्नुपर्ने बताए।  
उनले भने, ‘नयाँ दल भनेर हुँदैन नयाँ प्रवृत्ति हुनुपर्छ, नयाँ दलको अध्यक्षलाई सहकारी ठगीको आरोप लाग्यो तर त्यो दलकाहरुले हाम्रो अध्यक्षमाथि छानबिन गर्न पाइँदैन भनेर भन्यो। पुरानो  दलको  उपसभापति धनराज गुरुङलाई सहकारी ठगीको आरोप लाग्यो, उहाँ आफैँले संसद्मा उभिएर म माथि छानबिन गर्नुस् भनेर भन्नुभयो। नयाँ दलको अध्यक्षलाई सहकारी ठगीको आरोप लाग्दै गर्दा उनीहरु भन्छन् छानबिन गर्न मिल्दैन तर हामी भन्छौँ उहाँमाथि छानबिन हुनुपर्छ। उहाँमाथि छानबिन सुरु भएको छ। त्यो प्रक्रिया अवरुद्ध गर्न काँग्रेस लाग्दैन। सीआईबीले छानबिन गरिरहेको छ। धनराज गुरुङ छानबिन गर्दा निर्दोष देखिनुहुन्छ, माला लगाएर काँग्रेसको नेतृत्व गर्नुहुन्छ। दोषी देखिनुहुन्छ, जेल जानुहुन्छ।’
त्यस्तै, उनले निर्वाचनमा पपुलर भोट ल्याउने पार्टीले सरकार चलाउनुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे। शर्माले स्थिर सरकार नभई जनतामा देखिएको निराशा भत्काउन नसकिने बताए।
उनले २७५ सदस्यीय प्रतिनिधिसभालाई १८५ मा झार्नुपर्ने बताए। महामन्त्री शर्माले भने, ‘सरकारको नेतृत्व गर्ने अधिकार सिटमा मात्रै होइन, पपुलर भोट जसले बढी ल्याएको हुन्छ, त्यसलाई हुन्छ। त्यस्तो भए पनि हामीले अहिले जस्तो दोस्रो, तेस्रो, चौथोलाई फकाएर, गाँसेर सरकार बनाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ। हामी दोस्रो भयौँ भने हामी पनि ५ वर्षसम्म सरकार बाहिर बस्छौँ। २० सिट छ, समर्थन गर्न गृह मन्त्रालय चाहियो। यस्ताका दिन सकिन्छ, त्यो व्यवस्था गर्न सकेपछि।’