मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकमा आफ्नै घरभित्र १ जना पुरुषको हत्या भएको छ।
प्रहरीका अनुसार हत्या गरिएको अवस्थामा शनिवार बिहान ७ः२० बजेतिर ६० वर्षीय चन्द्रबहादुर तामाङको शव फेला परेको हो। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले आफ्नै घरको प्यासेजमा चन्द्रबहादुरको शव भेटिएको जानकारी दिए।
‘रगतमा डुबिरहेको अवस्थामा शव फेला परेको छ,’ उनले भने, ‘मृतकको टाउको र चिउँडोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेका चोटहरु छन्।’ दाहालका अनुसार शवनजिकै रगत लतपतिएको अवस्थामा धारिलो हतियार खुर्पा पनि फेला परेको छ।
घटनाको प्रकृति हेर्दा खुर्पाले प्रहार गरेर चन्द्रबहादुरको हत्या गरेजस्तो देखिने डीएसपी दाहालले बताए। स्थानीयले घटनाको जानकारी दिए लगत्तै प्रहरी घटनास्थल पुगेको थियो। घटनाको अनुसन्धानमा डीएसपी दाहाल आफैँ खटिएका छन्।
घटनास्थल पथरी बजारबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ। घटनापछि चन्द्रबहादुरका छोरी ज्वाईं अन्दाजी २५ वर्षीय रविन राई फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।
प्रहरीका अनुसार रविन ससुराली घरमा बस्दै आएको खुलेको छ। घरमा ज्वाईं ससुरा मात्रै बस्दै आएका थिए। रविनको घर पनि ससुराली घरनजिकै छ। चन्द्रबहादुरकी छोरी (रविन) की पत्नी विदेशमा रहेको प्रहरीले जनाएको छ।
चन्द्रबहादुरका २ छोरा, १ छोरी र पत्नी छन्। पत्नी र छोराछोरी सबै जना विदेशमा रहेको डीएसपी दाहालले बताए। उनका अनुसार दुवै जना (ज्वाईं ससुरा) शुक्रवार राति घरमै मदिरा सेवन गरेर बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
ज्वाईं र ससुराले सधैँ मदिरा सेवन गरेर होहल्ला गर्ने गरेको छिमेकीले बताएका छन् । गयराति पनि मदिरा सेवन गरेको पाइयो,’ दाहाल भन्छन्, ‘मदिरा सेवनपछि उत्पन्न विवाद हत्यामा परिणत भएको हुनसक्ने देखिन्छ। यद्यपि, रविन फेला नपरेका कारण घटनाका बारेमा स्पष्ट भइसकेको छैन ।’ उनका अनुसार चन्द्रबहादुर र रविन दुवै जना ज्यामी काम गर्थे।