नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गलत कदम चाल्दा वर्तमान सरकार सुरुवातकै चरणमा असफल बनेको बताएका छन्। 
नेकपा माओवादी केन्द्र चितवन–काठमाडौँ सम्पर्क समन्वय समितिको आठौँ भेलालाई शनिवार काठमाडौँमा सम्बोधन गर्दै उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र उपसभामुखलाई हटाउन खोज्ने लगायतका गलत कदमका कारण सरकार सुरुवातकै चरणमा असफल भएको बताएका हुन्। 
उनले भने, ‘नेपालबाट लोडसेडिङ अन्त्य गरेर उज्यालो नेपाल बनाउन प्राविधिक र विज्ञताका हिसाबले त्यति ठुलो काम गरेर देशभरिका जनताको हृदयमा पसेको कुलमान घिसिङलाई अपमान गरेर निकाल्न खोजियो तर जनताको विरोधपछि सरकार पछि हट्नुपर्‍यो। त्यस्तै आफैले बनाएको उपसभामुखलाई सोझोपनका कारण गरेको सामान्य प्राविधिक त्रुटिलाई लिएर कानुनी र नैतिक आधारविना नै हटाउन खोजियो, त्यसबाट पनि सरकार पछि हट्नुपर्‍यो।’ 
उपसभामुखले महिला र बालबालिकाको क्षेत्रमा प्राप्त गरेको अन्तर्राष्ट्रिय ख्यातिको समेत बेवास्ता गरेर महिला र जनजाति समुदायलाई अपमान गर्ने गरी हटाउनका लागि हस्ताक्षर गरेको पनि उनको भनाई छ। 
उनले भने, ‘त्यो जनतालाई स्वीकार्य थिएन र हामीले पनि अस्वीकार गरेपछि सत्तारुढ दलहरू पछि त हटे तर हस्ताक्षर गरिसकेको बेलामा हटाउन खोजेकै होइन भनेर प्रधानमन्त्रीले संसद्लाई ढाँटेको पनि देखियो।’ 
उनले वर्तमान सरकारमा भ्रष्टाचार आरोप लागेकै आधा दर्जन व्यक्ति मन्त्री भएकाले यो सरकार सुशासनका क्षेत्रमा निकै कमजोर रहेको भन्दै भ्रष्टाचारका विरुद्ध जनताले निरन्तर खबरदारी गर्नुपर्ने बताए।
माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कदम चाल्दै गर्दा भ्रष्टाचारीलाई जोगाउन सरकारबाट हटाइएको तथ्य नेता कार्यकर्ताले भन्दा चाँडो जनताले बुझेकोमा आफूहरू खुसी रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी अभियानका कार्य योजना निर्माण गर्न यसले ऊर्जा थपेको बताए। 
उनले अहिले नेपालमा तीनथरि सोचका बीचमा रस्साकस्सी चलिरहेको बताए। 
उनले भने, ‘अहिले शक्तिको रूपमा कमजोर भए पनि एकथरिले अराजकता मच्चाएर २०४७ सालभन्दा अघिको निरङ्कुश अवस्थामा मुलुकलाई लैजान सकिन्छ कि भन्ने प्रयासमा छन्। काँग्रेस, एमाले र खासगरी एमालेको एउटा तप्का अहिलेको संविधान स्वीकार गर्न चाहिरहेको छैन। महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिमले पाएको अधिकार खोजेर २०४७ कै जस्तो संविधान बनाउन पाए हुन्थ्यो भन्नेमा छ।’
उनले यी दुवै खालेका सोचका विरुद्ध जनताले नयाँ शक्तिको रूपमा रुचाएका प्रगतिशील, वामपन्थी, लोकतान्त्रिक शक्तिहरू जनताको अधिकारको पक्षमा रहेको उल्लेख गर्दै माओवादी केन्द्र यही शक्तिको नेतृत्वको गरेर अगाडि बढ्ने बताए।