सभामुख देवराज घिमिरेले साहित्यमार्फत समाजमा हुनुपर्ने परिवर्तन अझै अधुरो रहेको बताएका छन्।
शनिवार काठमाडौँमा आयोजित साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोहमा उनले साहित्यकै माध्यमबाट समाजमा चेतनाको विकास भएपनि हुनुपर्ने आवश्यक परिवर्तनहरू अझै नभएको बताए। 
उनले भने, ‘साहित्यकै माध्यमबाट समाजमा चेतना, उत्साह भर्ने धेरै कामहरू भए। तर समाज परिवर्तन गरिसकेपछि साहित्यले गर्नुपर्ने कामहरू के हो, अहिलेका युवा, महिलाहरूको कर्तव्य के हो र त्यो कसरी गर्न सकिन्छ। समाज र साहित्य, राजनीतिप्रतिको दायित्व के हो भन्नेबारे गम्भीर समीक्षा गर्नुपर्ने देखिन्छ। यस्ता कुराहरूमा साहित्य जे काम गर्नुपर्ने थियो अझै अधुरो छ। त्यसले अझै दिशा निर्देश गर्न सकिरहेको छैन।’
यसका साथै, उनले साहित्यले समाजको सेवा गर्ने र साहित्यको माध्यमबाट चेतना र उत्साह भर्ने काममा योगदान गर्न जरुरी रहेको बताए।