जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु.नौ लाख बराबरको सामान बरामद गरेको छ।

प्रहरीले आज जिल्लाका विभिन्न स्थानमा रहेका भारतीय नाकाबाट भन्सार छली गरी ल्याइएका रु नौ लाख एघार हजार एक सय १० मूल्य बराबरको अवैध सामान बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराका अनुसार धनगढीबाट करिब रु पाँच लाख पाँच हजार सात सय ८० बराबरको किराना सामान, तामा पित्तलका भाँडा, मिठाइ, प्याज र प्लास्टिक तथा भजनीबाट रु दुई लाख ३० हजार मूल्य बराबरको प्याज, मोटरसाइकल र चिनी बरामद गरिएको छ।

टीकापुरबाट रु एक लाख ३२ हजार सात सय ३० बराबरको किरानाका सामान, प्लास्टिकका खेलौना, शृङ्गारका सामान, चिनी र प्याज, गोदावरीबाट रु २६ हजार छ सय बराबरको कपडा र कैलारी गाउँपालिकाबाट रु १६ हजार बराबरको बोइलर कुखुरा बरामद गरिएको उनले जानकारी दिए।