सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिपलाई गोताखोरको टोलीले फेला पारेको छ। जिपमा सवार तीन जना भने अझै पनि बेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेका अनुसार आज बिहानपख २ बजेतिर गाडि फेला पारिएको हो। गाडि त भेटियो तर मान्छे अझै भेटिएका छैनन्।

खोटाङको हलेसीबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु गाडि शनिबार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो।

प्रहरीका अनुसार सो गाडी सुनकोशी नदीमा खस्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन्।

गाडिबाट हामफालेका सुशान्त कक्षपति मध्यम खालको घाइते छन्। उनलाई उपचारका लागि खुर्कोट पठाइएको छ।

जिप खसेको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोली खोजी कार्यमा खटिएको थियो।

जिल्ला प्रहरी प्रमुख एसपी काफ्लेले बेपत्ता व्यक्तिहरुको खोजी कार्य जारी रहेको र आफू पनि घटनास्थलतर्फ जान लागेको जानकारी दिए।