रामेछापमा अविरल वर्षापछिको पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ टोकरपुरको लेखखर्कमा गएराति पहिरोले चारवटा घर बगाएको थियो। पहिरोले स्थानीय उर्मिला पहरी, काले पहरी, भीमबहादुर थापा मगर र अर्को एक घर बगाएको बताइएको छ।
पहिरोमा पुरिएका मध्ये २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए। प्रहरीले शव फेला परेकाहरुको पहिचान हुन बाँकी रहेको जनाएको छ।
पहिरोमा ज्यान गुमाउनेमा भीमबहादुर थापाकी छोरी चण्डिका थापा मगर र करिब एक वर्षको नाबालक छोरा रहेको बताइएको छ। एक बालकले भने भागेर ज्यान जोगाएका छन्।
दोरम्बा शैलुङको वडा नम्बर २ र ३ को सीमा क्षेत्रमा पर्ने अधेरी खोलाको पक्की पुल समेत बगाएको छ। पहिरो गएको गाउँ जाने बाटोसमेत क्षतिग्रस्त भएकाले उद्धारमा समस्या भएको बताइएको छ।