नेपालमा स्टार्टअप उद्यम/व्यवसायको विकास र विस्तार गर्न स्टार्टअप नेसन २०३० कन्सोरटियमद्वारा होटेल सोल्टीमा स्टार्टअप नेसन २०३० सम्मेलन सम्पन्न भएको छ ।
सन् २०३० सम्म नेपालमा १० हजार स्टार्टअप प्रवर्द्धन गरी एक लाख रोजगारी सिर्जना गर्ने र देशलाई आत्मनिर्भर बनाउने, आयात प्रतिस्थापन गर्ने तथा देशको अर्थतन्त्रमा सघाउ पुर्‍याउने प्रमुख नाराका साथ सम्मेलन सम्पन्न भयो ।

देशमा स्टार्टअप र उद्यम संवर्द्धन केन्द्र स्थापना र विकास गर्न सरकारले स्टार्टअप नीति, स्टार्टअप कर्जा प्रवाह कार्यविधि, उद्यम संवर्द्धन केन्द्र स्थापना र सञ्चालन कार्यविधिजस्ता कानुन निर्माण गरिसकेको छ । 

गत आर्थिक वर्ष २०८०/८१ मा सरकारले १८३ वटा स्टार्टअपलाई व्यवसायको विस्तार गरी रोजगारी सिर्जना गर्न ३ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरिसकेको छ भने चालु आ.व. २०८१/८२ मा स्टार्टअप कर्जा प्रवाह प्रयोजनका लागि १ अर्ब बजेट विनियोजन गरेको छ । सोको कार्यान्वयन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गरेको छ ।

नेपालमा सन् २०२२ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, नेपाल उद्योग वाणिज्य महासङ्घ, इसिमोड र पम नेदरल्याण्डको आबद्धतामा स्टार्टअप नेसन २०३० कन्सोरटियम स्थापना भएको थियो । 

उक्त कन्सोरटियमले पहिलो पटक स्टार्टअप नेसन २०३० अवधारणा अनुसार सन् २०२२ मा सम्मेलन सम्पन्न गरेको थियो । सन् २०२४ मा नेपाल सरकारले नै कन्सोरटियमको नेतृत्व लिई यो सम्मेलन सम्पन्न गरेको हो । नेपाललाई स्टार्टअप नेसनका रूपमा स्थापित गर्न आवश्यक पर्ने कानुन नेपाल सरकारले निर्माण गरी निजी क्षेत्र, राष्ट्रिय/अन्तर्राष्ट्रिय सङ्घसंस्था र दातृ निकायसँग हातेमालो गरी अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको छ ।

स्टार्टअप नेसन २०३० मा बङ्गलादेश, पाकिस्तान, भुटान र भारतबाट स्टार्टअपका क्षेत्रमा काम गरिरहेका उद्यमी तथा विज्ञहरूको सहभागिता रहेको थियो । सम्मेलनको प्राविधिक सत्रमा सातै प्रदेशबाट आएका प्रतिनिधिहरूले ४पी (नीति, व्यक्ति, अभ्यास र प्रक्रिया) का बारेमा आ–आफ्नो प्रदेशको अवस्था प्रस्तुत गरेका थिए । 
सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, श्रम तथा रोगजारमन्त्री शरदसिंह भण्डारी र  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालको आतिथ्यता रहेको थियो । 

यस्तै, विभिन्न नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरू, सङ्घसंस्था, दातृनिकाय, गैरसरकारी संस्था, निजी क्षेत्र र शैक्षिक क्षेत्रका गरी करिब ४ सय जनाको सहभागिता रहेको थियो ।