हुलाकी राजमार्गमा पर्ने भत्किएको कमला नदीको पुल पुनर्निर्माणको माग राख्दै १० जना युवाहरु आरमरण अनसनमा बसेका छन्। 

मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि हिजो मंगलबारदेखि नै आमरण अनसन सुरु गरिएको छ। अनसनकारीहरुले झमझम वर्षाको बाबजुद निराहार रहेर टेण्ट मुनी एक रातकाटेका छन्। 

आमरण अनसन बस्नेहरुमा कमला पुल निर्माण संघर्ष समितिका संयोजक प्रवीण यादव, सिरहा नगरपालिकाका दुई जना वडाध्यक्षहरु इन्द्रजित यादव र समसाद आलम, औरही गाउँपालिकाकमा वडाध्यक्ष द्वय सुरेन्द्र यादव र जीवछ यादव , सिरहाका भोगेन्द्र साह शैलेश यादव शिवसंकर यादव, मनिष यादव र रुपेश कुमार यादव रहेका छन्। 

अनसनकारी तथा कमला पुल निर्माण संघर्ष समितिका संयोजक प्रवीण यादवले भने हामी ‘डु एण्ड डाई’ को अवस्थामा छौँ। अब कि त कमलाको पुल निर्माण गर्न सरकारले यथोचित व्यवस्था गर्छ कि हामी अन्न बिना प्राण त्याग गर्छौ। अब उधारो र ढाँटको आश्वासनले हुँदैन। तत्कालै पुल निर्माणका लागि येथेष्ट बजेट विनियोजन र निर्माण कार्यको सुरुवात गरिनु पर्छ।

अर्का अनसनकारी औरहीका जीवछ यादव भन्छन् कमलाको पुल नहुँदा मधेशको सामाजिक आर्थिक गतिविधि नै ठप्प छ। मधेशको जीवनरेखा भनिएको हुलाकी राजमार्ग प्रयोजनविहीन भएको छ। 

मधेश प्रति राज्यको यो उपेक्षा निकै पीडादायी छ। यो पुल भत्किदा जनजीवन मात्र कष्टकर भएको छैन , मधेशको समृद्ध हुने सपना पनि समाप्त भएको छ । तर राज्यले देखेपनि नदेखे जस्तो गर्दैछ। उनले थपे हामी अब वारपारको शान्तिपूर्ण सत्यहाग्रहमा छौँ। 

कमला पुल निर्माणका लागि दबाब सृजना गर्ने अभियन्ता तथा बरिष्ट पत्रकार रामरिझन यादव भन्छन् , कमलाको पुल भत्किएको स्थान सिरहा क्षेत्र नं. ३ मा पर्छ। यहाँका सांसद लीलानाथ श्रेष्ठ हुन।

उनले ४ दिन अघि मात्र प्रदेशका मन्त्रीहरु समेत लगेर सिरहाकै सर्रे अम्बासमा मदन भण्डारीको ६ तले  स्मारक निर्माण गर्न ११ अर्व बजेट दिने घोषणा गरेका छन्। 

तर आफ्नै निर्वाचन क्षेत्रको पुल पुनर्निर्माणको लागि कुनै चिन्ता छैन। उनकै निर्वाचन क्षेत्रका युवाहरुले आमरण अनसन सुरु गर्दा पनि उनको कानमा वतास लागेको छैन।

मधेश र मधेशीको भोट लिएर जितेका श्रेष्ठको यो रवैया र नियति कति निष्ठुर छ भन्ने कुरा अब मधेश र मधेशीले बुझ्नैपर्छ। उनले थपे हाम्रा बालबच्चा कमला नदी तर्दा पनि हरेक पटक ज्यानको बाजी लगाउँछन्, अहिले आमरण अनसनमा बस्दा पनि मृत्युसँग विकास सट्न बसेका छन्। 

हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमा निर्मित पुल ३ वर्ष अघि भत्किएको थियो। निर्माण सम्पन्न भएको केही महिनामै यो पुल भत्किएपछि हुलाकी राजमार्ग नै ठप्प भएको छ। सिरहा र धनुषा जिल्ला बीच आवागमन बन्द भएको छ। स्थानीय जनताहरु जेखिम मोलेर नदी वारपार गर्छन्। 

यो पुल निर्माण गर्नु पर्ने माग राखेर विगत २ वर्षदेखि सिरहा र धनुषा जिल्लामा पटक पटक दबाबमूलक आन्दोलनहरु भएका छन्। दर्जनौ पटक संघीय सरकार र प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाइएको छ। 

तत्कालीन सरकारहरुका मन्त्री तथा नेताहरु नरायणकाजी श्रेष्ठ, रवि लामिछाने  रघुवीर महासेठ र गगन थापाले भत्किएको पुलको अनुगमन निरीक्षण गरी एक वर्ष भित्र नयाँ पुल निर्माण गर्ने आश्वासन दिएका थिए । तर आश्वासन अनुसार काम नभएपछि सिरहाका बासिन्दाहरु मृत्युवरण गर्नसम्म तयार भएका छन्। 

सिरहाका पत्रकार बद्रीनारयण यादव भन्छन् यस पटक सिरहाली युवाहरुले वारपारको आन्दोलन सुरु गरेका छन्। १० जना मधेशी युवाहरुको जीवन आहुति दिनुपर्ने अवस्था आयो भने त्यसले सिरहामा थामी नसक्नुको जन सुनामी पैदा गर्नेछ। 

सरकार र सरकार चलाउने पार्टीका नेताहरुको ध्यान जान जरुरी छ। उनले भने कमलाको पुललाई प्राथमिकता नदिई मदन भण्डारीको स्मारक बनाउन ११ अर्व बजेट दिने घोषणा गर्ने सांसद लीलानाथ श्रेष्ठको अभिव्यक्ति मधेश र मधेशीहरुको मनमा यतिबेला काँडा झैं बिझीरहेको छ। यस प्रसंगमा निकै परिचर्चा सुरु भएको छ। 

मधेश प्रदेश सरकारको आँगनमै आमरण अनसन बसेका सत्याग्रहीहरुको माग प्रति मुख्यमन्त्री  सतिश कुमार सिंह भन्छन् मैले संघीय सरकारमा ज्ञापन पत्रको बोधार्थ पठाइ दिएको छु। हामीले पनि दबाब दिँदैछौ। यो संघीय सरकारको काम हो। उसैले पूरा गर्नुपर्छ।