हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा बुधवार बोलेरो जिप दुर्घटना भएको  छ । बुधवार बिहान ८ बजेको समयमा जिप दुर्घटना  हुँदा पाँच जना सख्त घाइते भएका छन्।
कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जिप चंखेली गाउँपालिका–२ गर्खादेखि देउली बजार तर्फ आउँदै गर्दा मुगु सडक खण्डको गौरी सल्लास्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए । चालक सहित सात जना सवार रहेको उक्त जिपमा पाँच जना सख्त घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चन्दले बताए।
सख्त घाइते हुनेमा चंखेली गाउँपालिका घर भएका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तील बहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायानाथ नगरपालिका –१३ का ४० वर्षीय पृथ्वी रावत र बोलेरो जिप शाही रमेश मल्ल सख्त घाइते भएको जानकारी प्राप्त भएको छ । 
उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ । यस्तै बाजुरा बुढीनन्दा नगरपालिका–४ घरभएका सावरी चालक महेन्द्र विक्रम शाह मध्यम र चंखेली गाउँपालिका–२ बस्ने मायादेवी शाही सामान्य घाइते भएका छन् ।
दुर्घटना हुनासाथ मिमि प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सात जनाको टोली घटनास्थलमा पुगेर उनीहरूको उद्धार गरिएको हो । गौरी सल्लास्थित दुर्घटना भएको बोलेरो जिप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकदेखि एक सय पचास मिटर तल खसेको छ ।