साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले १-० को जित दर्ता गरेको हो। नेपालको जितमा निराजन धामीले गरेको गोल नै निर्णायक सावित भयो। खेलको अधिकांश समय बल पोसेसनमा नियन्त्रण लिएको नेपालले मध्यतिर अग्रता लिएको थियो।

आक्रमक फुटबलमा जोड दिएको नेपालले पटक पटक गोलको अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन। श्रीलंकाले पहिलो हाफमै २ खेलाडी परिवर्तन गरेको थियो। दोस्रो हाफमा नेपालले थप अवसर सिर्जना गरेको थियो, तर पुनः एकपटक पहिलो हाफकै फिनिसिङको समस्या दोहोरिँदा खेलमा अग्रता बढाउन असफल रह्यो।

जितसँगै नेपालले समूहमा ३ अंक जोडेको छ। ६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ए मा छ। समूह 'ए' मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन्। समुह 'बी' मा भारत, माल्दिभ्स र भुटान रहेका छन्।

सोमबारको समूह बी अन्तर्गत दिउँसो ३ बजे एन्फा कम्प्लेक्समै भुटान र भारतले खेल्नेछन्।