‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन्। शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि जितिन्।

विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले पुरस्कार प्रदान गरे। जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्। अन्य फाइनलिस्टलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको छ।

कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा दाहाल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए। कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरे।

फिनालेमा कोच र तिनका प्रतिस्पर्धीले सांगीतिक प्रस्तुति दिएका थिए। दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता चुनिएको हो। भोटिङ लाइन शनिबार बेलुका ७ बजेसम्म खुला थियो। फिनालेमा ‘भ्वाइस अफ नेपाल’को छैटौँ सिजनको डिजिटल अडिसन बाँकी ७ दिन मात्र खुला रहने जानकारी दिइएको थियो। यो जानकारी दिन होस्ट सुशिल नेपाल आफै मञ्चमा उक्लिएका थिए।