आइतबार सुरु हुने साफ यु–२० च्याम्पियनसिपका लागि ६ वटै सहभागी टोलीले तयारी पूरा गरेको जनाएका छन् । 
शनिवार एन्फा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालसहित ६ टोलीका कप्तान र प्रशिक्षकले प्रतियोगिताका लागि तयारी पूरा भएको बताएका हुन् । 
उद्घाटन खेलमा नेपालले श्रीलङ्कासँग खेल्नेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।
प्रतियोगितामा पाकिस्तानबाहेक दक्षिण एसियाली सहयोग सङ्गठन सार्कमा आबद्ध ६ देश सहभागी छन् । प्रतियोगिताका सबै खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने तय भए पनि एएफसी च्यालेन्ज कप प्लेअफ अन्तर्गत नेपालको चर्च ब्वाइज र भुटानको पारो एफसीबीच भएको खेलपछि मैदानको अवस्था राम्रो नभएको भन्दै  उद्टनसहित समूह चरणको खेलहरू एन्फा कम्प्लेक्समा गर्न लागिएको छ ।
Photo 46
सोही क्रममा नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टिममा अघिल्लो वर्षका खेलाडीहरू, ए डिभिजन लिग खेलेका खेलाडीहरू रहेको भन्दै परिणाम राम्रो आउने आशा गरेको बताए । यस्तै, उनले धेरै मेहनत गरेर टिमलाई तयार पारेको पनि बताए । 
उनले भने, ‘हामीले ४०–४५ दिन एन्फा कम्प्लेक्सकै ग्राउन्डमा तयारी गर्न पायौँ । वर्षाले खासै असर गरेन र यही मैदानमा हाम्रो खेल हुने भयो । हाम्रो लागि धेरै राम्रो कुरा हो । खेलाडीहरूका लागि अलिकति फाइदा हुन्छ जस्तो लागेको छ । अघिल्लो वर्षका खेलाडीहरू पनि समावेश गरिएको छ । ए डिभिजन लिग खेलेका खेलाडीहरू पनि छन् । धेरै मेहनत गरेका छौ र यसपालिको टिम राम्रो नै भएको छ जस्तो लाग्छ ।’
यस्तै, नेपालका कप्तान कुशल देउवाले पनि टिम पूर्ण रूपमा तयार रहेको भन्दै च्याम्पियनसिप जित्ने लक्ष्य र सोचका साथ आएको बताए ।