सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन्।

मृत्यु हुनेहरुमा सिन्धुलीकै गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही ठाउँका ४५ वर्षका उदयबहादुर मस्राङ्गी र ३५ वर्षका पवन मस्राङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवबहादुर कटुवालले जानकारी दिए।

उनीहरुको उपचारको क्रममा बिहान साढे १० बजे जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो।

बिहीबार बिहान सँवा ९ बजेतिर कमलामाई नगरपालिका–२ चियाबारी नजिक बीपी राजमार्गमा गोलञ्जोरबाट सिन्धुलीतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको जिप आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा ११ जना घाइते भएका छन्। जसमध्ये जिप चालक गोलञ्जोर–६ का ३२ वर्षीय टीकाजंग राई (हायु) को अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। चालकसँगै गोलञ्जोर-६ का २२ वर्षीय उदय लुंगेली, १७ वर्षीया मेनुका मगर र ३७ वर्षका हिमाल परियारलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

गोलञ्जोर-६ कै १८ वर्षीया जिना श्रेष्ठ, पवन मर्स्याङ्गी, ४७ वर्षीया धनमाया वाइबा, २४ वर्षीया लिला मगर, २२ वर्षीया समिना मगर, १९ वर्षीया बन्दना कोइराला, ३७ वर्षीय हिमाल परियार, ५६ वर्षका राजनप्रसाद कोइराला र कमलामाई–५ कि ७८ वर्षीया डम्बर कुमारी कार्की घाइते छन्।

उनीहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ।