१३ औँ दक्षिण एसियाली खेलकुदमा पदक विजेतासहित नेपालका पाँच तेक्वान्दो खेलाडी अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनोट भएका छन्।

सिड्नीको होमबसमा सम्पन्न न्यू साउथ वेल्स स्टेट च्याम्पियनसिपबाट पाँच नेपाली खेलाडी छनोट भएका हुन्। १३औँ सागका कांस्य विजेता शिषिर श्रेष्ठसहित चन्दु शाही, पारस भण्डारी, मनोज श्रेष्ठ र सन्जिला तिमिल्सिना अस्ट्रेलिया तेक्वान्दोको राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन्।

व्यक्तिगत पुम्से चौथो डानतर्फ शिषिर कांस्य पदक जित्न सफल भए। स्टेट च्याम्पियनसिपमा शीर्ष तीन स्थानका खेलाडीले राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउँछन्।

चन्दु शाही र सञ्जिला तिमिल्सिना महिला व्यक्तिगत पुम्से तेस्रो डानतर्फ छनोट भए। चन्दुले कास्य र सञ्जिलाले रजत पदक जिते। पारस भण्डारी पुरुष व्यक्तिगत पुम्से (तेस्रो डान) तर्फ राष्ट्रिय प्रतियोगिताका लागि छनोट भए।

उनी यस विधामा रजत पदक जित्न सफल भए। यसै विधामा दोस्रो डानतर्फ प्रतिस्पर्धा गरेका मनोज श्रेष्ठ भने स्वर्ण पदक जित्दै छनोट भएका छन्। सबैले ट्रेडिसनल पुम्सेमा प्रतिस्पर्धा गरेका थिए। यस च्याम्पियनसिपमा विभिन्न देशका करिब आठ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए।