नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको आर्थिक–सामाजिक विकासमा सक्दो सहयोग गर्न चीन तयार रहेको प्रतिवद्धता जनाएका छन्।
मङ्गलबार चाइना मिडिया ग्रुप र साइनो नेपाल मिडिया सोसाइटीद्वारा आयोजित कार्यक्रममा उनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजना नेपालको हितमा रहेको बताए।
उनले भने, ‘यी सुधारका उपायले चीन र नेपाललाई हिमाल पारि सम्पूर्ण तवरले जोड्ने सञ्जाल निर्माणलाई चाँडो अगाडि बढाउन, कृषि, उद्योग, व्यापार, ‘डिजिटल टेक्नोलोजी’, ऊर्जा, पर्यटन क्षेत्रको क्षमता विस्तारमा उपयोगी हुनेछन्। यसबाट नेपाललाई समृद्धिका अवसर प्राप्त हुनेछ।’
उनले चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँं केन्द्रीय समितिको तेस्रो बैठकले चीनको निरन्तर सुधार र खुलापनको सन्देश प्रवाह गरेको पनि बताए।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले समानता, आपसी हित र दिगो मैत्रीप्रति दृढ विश्वास भएका नेपाल र चीनबीच सौहार्दपूर्ण सम्बन्ध रहेको बताए।
उनले भने, ‘दुई देशबीचको सम्बन्ध समस्या मुक्त छ, चीनले नेपालको विकासमा उदारतापूर्वक सहयोग गर्दै आएको छ। नेपालले सधैँ चीनको चासोलाई ध्यानमा राखेको छ। बिआरआई परियोजना कार्यान्वयनको ढाँचाबारे दुबै देशका सरकारले चाँडै निर्णय गर्ने र परियोजना शीघ्र कार्यान्वयन हुनेमा म विश्वस्त छु।’