भारतको पूर्वी राज्य झारखण्डमा मङ्गलबार रेल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
दुर्घटना झारखण्डको राजधानी राँचीबाट करिब १२३ किलोमिटरमा रहेको पश्चिम सिंहभूम जिल्लाको चक्रधरपुरको बडाबाम्बु स्टेशन नजिकै हावडा–मुम्बई मेल एक्सप्रेसको रेलका १८ वटा डिब्बा लिकबाट खस्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। दुर्घटनाग्रस्त रेल हावडाबाट मुम्बईको छत्रपति शिवाजी महाराज टर्मिनसतर्फ जाँदै गरेको थियो।
राहत र उद्धार कार्यका लागि कर्मचारीसहित आवश्यक राहत र चिकित्सा उपकरण तुरुन्तै घटनास्थलमा पुर्याएको साथै प्रभावित यात्रुलाई बसमार्फत नजिकैको रेलवे स्टेसनमा लागी बाँकी यात्राका लागि विशेष रेलको व्यवस्था गरिएको थियो।
रेलको लिकबाट खसेका १८ डिब्बामध्ये १६ वटामा यात्रु सवार रहेका , एउटामा पावर कार र एउटामा प्यान्ट्री कार रहेको जनाएका छन्।
हावडा–मुम्बई मेल एक्सप्रेसको रेल लिकबाट खसेपछि छेउमा रहेको मालवाहक रेलसँग ठोक्किँदा यो दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले जनाएको छ।