मोरङको लोहन्द्राखोलामा माछाको एक नयाँप्रजाति फेला परेको छ। बुदुनाजातको गारा केम्पी वैज्ञानिक नाम रहेको सो माछा एशियाकै रैथाने भएको अनुसन्धान कर्ताहरुले बताउनुभएको छ।
अनुसन्धानकर्ताहरु जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल र रामचन्द्र अधिकारीले उक्त प्रजाति नेपालका लागि नयाँ भएको भन्दै भारतबाट प्रकाशित हुने प्रसिद्ध जर्नल थ्रिटेन्ड टेक्साको सन् २०२४ को जुन अङ्कमा लेख लेख्नुभएको छ। लिम्बू लगायतको टोलीले दुईमहिना अघि पनि लोहन्द्रामै एक विदेशी प्रजाति फेलापार्नु भएको थियो। २०२२ को सेप्टेम्बरदेखि २०२३ को मार्च महिना सम्मको स्थलगत सर्वेक्षणमा लोहन्द्रा खोलामा गारा केम्पी माछा भेटिएको र यसको बाहिरी बनावटको र आणविक तथा आनुवांशिक अध्ययनको विवरणबाट नेपालको लागि नयाँ भएको जानकारी अनुसन्धान कर्तामध्ये एक जसहाङ लिम्बूले जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो–‘विराटनगर–रङ्गेली रोडमा पर्ने लोहन्द्रा पुल आसपासबाट यो माछाका ३० देखि ४० ग्रामका जिउँदो नमुनाहरु संकलन गरिएको थियो। यसको शरीरका १८ किसिमका नापहरु लिइयो जसमा धेरै कुराहरु अरु प्रजाति भन्दा भिन्न पाइयो र नयाँ प्रजाति भनी दाबी गरियो र पुष्टि पनिभयो।’ फरक प्रजातिहो भनी पुष्टि गर्न गारा जातिका अरु १९ प्रजातिसँग आणविक बनावटको तुलना गरिएको थियो।
गारा केम्पी नेपालबाहेक पूर्वी र उत्तरी भारतमा तथा चीनका केही स्थानहरुमा पाइने केही अन्य अनुसन्धान कर्ताहरुले जनाउनु भएको छ। ‘यसलाई स्टोन सकर पनि भनिन्छ’–अर्का अनुसन्धानकर्ता अधिकारीले भन्नुभयो–‘यो थुतुनोको सहाराले ढुंगाामा टाँसिएर बस्छ र मुख्य बासस्थान भनेको सफा नदीको तीव्र वेग भएको ठाउँमा हो।’ यो प्रजाति पूर्वी नेपालका कन्काई लगायतका नदीहरुमा पनि प्रसस्तै पाइने गरेको लिम्बूले बताउनु भएको छ। विश्व संरक्षण संघले यसलाई खास वास्ता नगरिएको ९लिष्टकन्सर्न० प्रजाति अन्तर्गत राखेको छ। धेरै पौष्टिक तत्वहरु पाइने र स्वादिलो पनिहुने भएकोले स्थानीयहरुको रोजाइमा यो माछा पर्दछ।
अनुसन्धानकर्ता लिम्बूले भन्नुभयो–‘यो माछालाई अघिल्लो पुस्ताका अनुसन्धानकर्ताहरुले उस्तै देखिने गारा आनन्देली नाम दिनुभएको थियो, त्यसमा प्रसस्त प्रमाणहरु पनि थिएनन् र उक्त आनन्देलीको बासस्थान भने पहाडी क्षेत्रका नदीहरु मात्र हुन्। पुराना अनुसन्धानहरुमा केही कमजोरी भएका कारण प्रजातिहरुको सही पहिचान हुन नसकेको लिम्बूको धारणा छ। उहाँले थप्नुभयो– ‘बुदुनाजातका माछाका यसअघि आठ प्रजाति नेपालमा पाइने भनिएको भएतापनि गारा मुल्यार गारा रुपिकोला प्रजातिको अस्तित्व स्वीकार गर्न सकिदैन। तसर्थ यो सहित बुदुनाका अब सात प्रजाति मात्र भए।’ नेपालमा माछाका प्रजाति संख्या २७३ पुगेको दाबीसमेत लिम्बूले गर्नु भएको छ। माछाको प्रजाति पहिचान, अस्तित्व र वितरणका विषयमा थप वैज्ञानिक अनुसन्धान गरी अभिलेखीकरण गर्न जरुरी भएको लेखकहरुले औँल्याउनु भएको छ।