धार्मिक अभियन्ता पुष्कर खतिवडा पक्राउ परेका छन्। प्रधानमन्त्रीसहितका नेताहरूको फोटो राखेर अनुष्ठान गरिरहेका बेला उनी पक्राउ परेका हुन्।
मण्डिखाटारमा नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरेपछि उनलाई सोमबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो।
खतिवडालाई घरबाटै पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको फोटो राखेर मृत्युको कामनासहित अनुष्ठान गरिएपछि त्यसलाई आपत्तिजनक भन्दै खतिवडालाई पक्राउ गरिएको हो।
खतिवडाले आफू पक्राउ परेको सूचना सामाजिक सञ्जालमा लेखेका छन्। ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौँ देश बनोस्’, उनले भनेका छन्।
२८ वर्षीय खतिवडाले साउन ११ मा सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामना गरेर अनुष्ठान आयोजना गर्न लागेको भन्दै सहभागीताका लागि आह्वान पनि गरेका थिए।