सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले कार्ययोजना अनुसार चल्न सकेमा काममा अन्यौलताको अवस्था नआउने बताएका छन्।
सोमबार समितिको वार्षिक कार्य योजनामाथिको छलफलमा उनले कार्ययोजना अनुसार चल्न, काम गर्न सजिलो हुने भन्दै यसले गर्दा के गर्ने भनेर अन्योलको अवस्था नआउने बताएका हुन्।
उनले भने, ‘सार्वजनिक नीतिसँग भएका विषयलाई विज्ञ र सरोकारवालाहरूसँग छलफल गर्दा कति महिनामा सक्ने र कहिले गर्ने भन्ने कुरामा समय तोक्ने हो भने सजिलो हुन्छ। कुन महिनामा के गर्ने भन्ने कुरा तोकेर जाने हो भने कार्ययोजना अनुसार चल्न काम गर्न सजिलो हुन्छ, के गर्ने के गर्ने भनेर सोचेर बस्नु पर्ने अवस्था हुँदैन।’
यस्तै, उनले महिना र मौसम अनुसार कार्यतालिका बनाएर काम गर्न सजिलो हुने पनि बताए।उनले भने, ‘बर्खाको समयमा बाहिर जान गारो हुन्छ, भित्रका कामहरू गर्ने, आन्तरिक छलफल गर्ने, असोज कार्तिकमा दसैँ तिहारले प्रभाव पार्छ यहीसँग मिल्ने हिसाबको कार्यक्रम बनाउने, हिउँदको समयमा अलि बढी भ्रमणका कार्यलाई बढाउने, आकस्मिक रूपमा केही भइहाल्यो भने त्यही समयमा छलफल गर्ने काम हुन्छ।’
समितिको वार्षिक प्रतिवेदन आर्थिक वर्षको ३ महिनाभित्र बुझाउने नियम रहेको भन्दै असोजसम्म वार्षिक प्रतिवेदन पेस गर्ने उनको भनाइ छ।