गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम दुरुपयोग गरी बाहिर फरार भएका र समितिले खोजेका व्यक्तिहरूलाई देशमा ल्याउन बजेट र अन्य कुनै कारणले समस्या नहुने प्रतिबद्धता जनाएका छन्।
सोमबार बिहान सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको भवनमा बसेको समितिको बैठकमा गृहमन्त्रीले समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन्।
उनले भने, ‘गृहमन्त्रीले फरार देशभित्र देश बाहिर रहेका सम्पर्कमा आएका वा नआएका व्यक्तिको हकमा र आवश्यक जनशक्तिको व्यवस्था गर्ने बारेमा धेरै विविध र समितिको निर्देशन प्राप्त भएपछि मन्त्रालयले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले बाहिरबाट समितिले खोजेका व्यक्तिहरू देशमा ल्याउन बजेटको अथवा अरू कुनै कारणले समस्या पर्दैन पनि भन्नु भएको छ।’
साथै, उनले गृहमन्त्रीले सहकारीको समस्यालाई सरकारले प्राथमिकतामा राखेको भन्दै संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्ग निर्देशक बन्ने पनि बताएको जानकारी दिए।