लेखक, कवि एवम् साहित्यकार नेत्र प्रसाद गौतमका तीनवटा कृतिहरु एकसाथ विमोचन गरिएका छन्। 

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यकार गौतमका ‘मेरो इतिवृति’, ‘नेत्रसरका तीन खण्डकाव्य’ र ‘भूत पिसाच’ नामक कृतिहरुको प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमोचन गरे। 

साहित्यकार गौतमका शनिबार सार्वजनिक गरिएका तीनवटै कृतिहरुभित्र ६ वटा विभिन्न विषयसँग सम्बन्धित विषयहरु उल्लेख गरिएका छन्। 

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल साहित्यकारहरुको गन्तव्य मुलुक भएको उल्लेख गर्दै राज्यले कला, संस्कृति र साहित्य क्षेत्रबाट समाज निर्माण गर्न लागि परेका व्यक्तिहरुलाई उचित सम्मान र संरक्षण गर्नुपर्ने बताए। 

नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र आदिकवि भानुभक्त आचार्य जस्तासाहित्यकार जन्मिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उहाँहरुको विरासत नयाँ पुस्ताका साहित्यकारहरुले सम्हाल्नुपर्ने बताए। 

उनले भने, ‘समाज तथा राज्यले कला, संस्कृति र साहित्य क्षेत्रबाट योगदान दिने स्रष्टाहरुलाई उचित सम्मान र संरक्षण गर्नुपर्दछ।’  

‘हाम्रो देश साहित्यकारहरुको गन्तव्य मुलुक हो। भानुभक्त आचार्य, मोतिराम भट्ट, लेखनाथ पौडेल र बालकृष्ण सम जस्ता साहित्यकारहरु र महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्ता साहित्यकार जन्माउने देश हो। नेपालमा एक जनाले भन्नुभएको थियो। भारतका तीन जना साहित्यकार जोड्यो भने बल्ल लक्ष्मीप्रसाद जस्ता सात्यिकार जन्मन्छन् भनेर अबको पुस्ताले उहाँको विरासत सम्हालनुपर्छ,’ उनले भने।