पर्यटकीय नगरी भेडेटारमा स्काईवाक टावर सञ्चालनमा आएपछि यहाँका होटल व्यवसायीहरु उत्साही बनेका छन्। वोन्डर्स एम्युजमेन्ट पार्कस् एण्ड एट्रयाक्सन्स प्रालिले धनकुटा साँगुरीगढी गाउँपालिका–६ मा ११ रोपनी क्षेत्रफलमा रु २० कारोड लगानीमा स्काईवाक टावर शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो।
टावर सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढ्नेमा यहाँका पर्यटन व्यवसायीहरु आशावादी बनेका छन्। होटल सङ्घ भेडेटारका अध्यक्ष तुमराज लिम्बुले टावर सञ्चालनपछि पर्यटकीय गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे। “टावरको उद्घाटनमा पनि पर्यटकको आगमन बढेको छ, अब यहाँका होटलको व्यापार सुधार हुने अपेक्षा लिएका छौँ” उनले भने।
लामो समयदेखि होटल व्यवसायमा संलग्न होटल अरुण टपका सञ्चालक रमेश श्रेष्ठले होटलको व्यापारसँगै यस क्षेत्रको कृषि उपज बेचबिखनमा समेत सहयोग पुग्ने बताए। होटल सङ्घ भेडेटारका पूर्वअध्यक्ष तथा होटल लावती कर्नरका सञ्चालक लिलाराज लावतीले पनि यहाँ सञ्चालित एक सयभन्दा बढी ठूला होटललाई यस परियोजनाले महत्वपूर्ण सहयोग पुग्ने बताए।
गर्मीमा तराईबाट यहाँ आउने पर्यटकहरु धेरै हुने गरेका छन्। चुरे पहाडमा अवस्थित यस भेडेटार आसपासबाट हिमाल, पहाड र तराईको दृष्य एकैसाथ हेर्न पाइन्छ। होटल सङ्घका अनुसार दृश्यावलोकनका लागि भेडेटारमा दैनिक पूर्वी भारत र नेपालका विभिन्न स्थानबाट दुई हजारभन्दा बढी पर्यटकहरु आउने गरेका छन्।
हाल भेडेटारमा साना र ठूला गरी दुई सयभन्दा बढी होटल सञ्चालनमा रहेका छन्।