झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा हिजो दिउँसो माछा मार्ने क्रममा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापाको शिवसताक्षी–४ बोलोचोकका ४० वर्षीय चन्द्रे मुर्मू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

टुनुबस्ती नजिकै पानी जमेको होलीमा मुर्मूसहित ३५ वर्षीय अक्तर मियाँ माछा मार्ने क्रममा करिब पौने ४ बजे पानीमा डुबेका थिए। उनीहरूलाई उद्धार गरेर शिवगञ्जस्थित नगर अस्पतालमा उपचारका लागि ल्याइएको थियो।

थप उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएकोमा मुर्मूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।