बेलबारी : मोरङको बेलबारी नगरपालिका ४ र ५ नम्बर वडाको सीमामा पर्ने लिम्बू चौकमा विषालु सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बेलबारी ४ की १० वर्षीया भूमिका कार्की रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
बालिकालाई बिहान ६ः३० बजे गोमन सर्पले टोक्नुका साथै बिरालोले समेत नङ्ग्रयाएकोमा परिवारजनले ७ः०० बजे थाहा पाएपछि बेलबारीकै बेतना सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लगिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित कोशी अस्पताल रेफर गरिएकी बालिकालाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरिदिएका थिए ।
ओछ्यान मिलाउने क्रममा बालिकालाई हातमा सर्पले टोकेको पारिवारिक स्रोतलाई उद्दृत गर्दै बेलबारी ४ का वडाध्यक्ष चन्द्र लिम्बूले जानकारी दिए।
बालिका बेलबारी ५ स्थित बीएन एजुकेसनल एकाडेमीको कक्षा ४ मा अध्ययनरत थिइन्।