नेपाली कांग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा केन्द्रीय कार्यालय पुस्तकालयको शुभारम्भ गरिएको छ। 

केन्द्रीय पुस्तकालयको एक समारोहकाबीच पार्टी सभापति शेर बहादुर देउवाले पुस्तकालयको उद्घाटन गरे। 

नेपाली साहित्यमा समेत उच्च योगदान दिएका कोइरालाका विभिन्न पुस्तकहहरु र कृतिहरु पुस्तकालयमा राखिएका छन्। 

उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित छन्। 

त्यसै गरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ।

नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गरेका वी पी अर्थात ‘विश्वेश्वर प्रसाद’ कोइरालाको जन्म वि.सं. १९७१ भदौ २४ गते भएको थियो। 

जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो। 

निर्वासनमै बिपीले भारतको स्वतन्त्रता संग्राममा भाग लिएका थिए। भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोँचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए। 

भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न वि.सं.२००३ मा वीपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भयो। 

प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्णशम्शेरको नेतृत्वमा वि.सं. २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेसका बीच एकता भएपछि विसं २००७ को क्रान्ति सफल भयो। क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–काँग्रेस सरकारमा वीपी गृहमन्त्री बनेका थिए। 

विसं २०१५ को आमनिर्वाचनमा काँग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए। 

प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराएका थिए।