प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बीपी कोइरालाले राजनीतिक दर्शन, समाज परिवर्तन र साहित्यको क्षेत्रमा आफ्ना छापहरु छोड्न सफल हुनुभएको बताएका छन्। 

आइतबार वीपी कोइराला राष्ट्रिय पुरस्कार २०८०, समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वीपी कोइरालाले नेपाली राजनीति र साहित्यलाई अहिलेको अवस्थामा पुर्याउन महत्वपूर्ण योगदान रहेको बताए। 

उनले भने, ‘राजनीतिक दर्शनको पाटोमा, साहित्यिक दर्शनको पाटोमा वीपी कोइरालाले नेपाली राजनीति, समाज परिवर्तनका क्षेत्रमा आफ्ना छापहरु छोड्न एकदमै सफल व्यक्तित्व हुनुहुन्छ। उहाँले राजनीति सँगसँगै साहित्यलाई पनि एउटा उचाईमा पुर्याउनुभएको छ। राजनीतिलाई पनि झन धेरै उचाईमा पुर्याउनुभएको छ उँहाले। तर, आज वीपी कोइरालालाई बुझ्न त्यति सजिलो छैन्।’

दर्शन, साहित्य र राजनीतिको बारेमा विवादहरु रहेपनि वीपी कोइरालाले खोजेको व्यवस्था र प्रणाली अहिले पनि आफू सहमत रहेको ओलीको भनाइ छ।

त्यस्तै उनले वीपी कोइरालाले दुरदर्शी तथा परिवर्तनका  लागि आफ्नो जीवन समर्पित गरेको उल्लेख गर्दै अहिलेको नेतृत्वले उनीबाट पाठ सिक्नुपर्ने बताए।