नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवसको अवसरमा आइतबार बिहान रामेछापमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। 

नेकपा एमाले रामेछापको आयोजना र नेपाल रेडक्रस सोसाईटी रामेछाप शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो। मन्थलीको देवकोटा चोकमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रगत दिएका थिए।

Photo (4) 24रगतको अभाव हुन नदिन र रगत अभावको कारण कसैले ज्यान गुमाउनु नपरोस् भनेर स्मृति दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको नेकपा एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले जानकारी दिए। 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म वि.सं.१९८१ असार १५ गते रामेछापको भँगेरीमा भएको थियो। पिता भक्तलाल श्रेष्ठ रामेछाप मालपोत कार्यालयको हाकिम भएर आएको बेला माता तुलसीकुमारीको कोखबाट माइलो छोराको रुपमा उनको जन्म भएको थियो। 

वि.सं. १९९७ सालमा दाजु गङ्गालाल श्रेष्ठलाई गोली ठोकेर मार्नु एक दिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्’भनेका थिए। दाजुको यही बचनबाट प्रभावित भएर पुष्पलाल राजनीतिमा लागेका थिए।  

Photo (2) 27२००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए। पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको प्रचार गर्न कम्युनिष्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गरे। निरंकुश पञ्चायत शासन विरुद्ध लड्दा लड्दै २०३५ साल साउन ७ गते पुष्पलालको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा निधन भयो। उहाँको स्मृतिमा नेपालका कम्युनष्टिहरुले साउन ७ गते स्मृति दिवस मनाउने गर्दछन्। 

Photo (5) 22नेकपा एमाले रामेछापको पुष्पलालको स्मृति दिवसको अवसरमा तीन दिनसम्म कार्यक्रम गर्ने भएको छ। उनको स्मृतिमा हिजो भँगेरीमा रहेको पुष्पलाल स्मृति पार्कको सरसफाइ गरिएको थियो। आज रक्तदान कार्यक्रम आयोजना गरिएको छ भने भोलि भंगेरीमा प्रवचन कार्यक्रम आयोजना गरिएको नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिए।