दुई दिनदेखिको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ।
जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार पानीको बहाव अत्यधिक बढेकाले आइतबार बिहान ९ बजेदेखि सबै ढोका खोलिएको हो। प्रतिसेकेन्ड ९ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले ३ लाख ६८ हजार क्यूसेक पानी बगिरहेको भण्डारीले जानकारी दिए।
आइतबार बिहान ६ बजे पानीको बहाव ३ लाख ४२ हजार क्युसेक रहेको थियो। सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पानीको बहाव बढेसंगै निरन्तर अनुगमन गरिरहेको बताए। आफूहरूको पूरै ध्यान अहिले बाढी पहिरोमा केन्द्रित रहेकाले भारतीय पक्षसंग पनि समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए।
यसअघि २०७६ असार २९ गते पनि ब्यारेजका सबै ढोका खोलिएको थियो। पानीको बहाव अहिले पनि निरन्तर बढिरहेकोले जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी सूचना केन्द्रले पनि सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सतर्क रहन सूचित गरेको छ।




















