बुधवार साँझबाट बेपत्ता भएका मोरङको बेलबारी ५ कसेनी मिलीजुली टोलका ५ वर्षीय बालक मृत फेला परेका छन्। 

घर अगाडी खेलिरहेका विनोद वनका ५ वर्षीय छोरा विवश बुधवार साँझ ७ बजे अचानक बेपत्ता भएका थिए। बेपत्ता भएलगत्तैबाट स्थानीय, प्रहरी र सशस्त्रको टोलीले उनको खोजमा रेस्क्यु अपरेसन चलाएको थियो। बुधवार अबेरसम्म खोज्दा नभेटिएका बालकको शव घर भन्दा अन्दाजी डेढ किलोमिटर पूर्व मोरङ सुनसरी सिचाई मूल चतरा नहरमा काटिएको पिपलको रुखमा अड्किरहेको अवस्था फेला परेको थियो। 

kआज बिहान करिब साढे ९ बजे स्थानीयले बालकको शव भेटिएको सूचना दिएपछि स्थानीय र प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनासँगै सिंगो गाउँ नै शोकमा परेको छ। उद्धार टोलीसँगै घटनास्थलमा पुगेका बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले घटनाले सिंगो बेलबारी नै स्तब्ध भएको बताएले। उनले आगामी दिनमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि पालिका गम्भीर भई उचित कदम चाल्ने प्रतिबद्धता समेत व्यक्त गरे।

घटना पश्चात् परिवारमा दुःखको माहौल सिर्जना भएको छ। उनको शव पोस्टमार्टम लागि मंगलबारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएको इलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएको छ। बालक कसेनी ५ स्थित कसेनी मोडल ईङग्लिस स्कुलमा कक्षा एल के.जी.मा अध्ययनरत थिए।