सामुदायिक विद्यालयहरूले भाडामा लगाएका सटरहरूमा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ।
काठमाडौं महानगरपालिकाको शिक्षा विभाग र महानगर प्रहरी बलसहितको टोलीले महानगरभित्र रहेका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरूलाई बन्द गराउँदै ताला लगाएको हो।
यसैक्रममा बुधबार महानगरले बानेश्वरमा रहेको रत्नराज्य माध्यामिक विद्यालय लगाएत विद्यालयले भाडामा लगाएका सटर बन्द गराएको हो।
महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले सामुदायिक विद्यालयहरुले व्यवसायीक प्रयोजनका लागि सटर भाडामा लगाउन नपाउने नीतिअनुसार ताला लगाएको जानकारी दिए।
महानगरभित्र रहेका ३७ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु बन्द गरिने र उक्त स्थानलाई पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा प्रयोग गरिने उनले बताए।
यसअघि महानगरले आइतबार ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको थियो।