सेती नदीमा आकस्मिक रुपमा डुब्नबाट जोगिने उपाय सिकाउन पसेका सशस्त्र प्रहरीका एकजना जवानले ज्यान गुमाएका छन्।

जिल्ला विपद् व्यवस्थापन समिति बझाङको आयोजनामा बाढी र त्यको क्षति न्यूनीकरणका लागि सेती नदीमा भएको कृत्रिम अभ्यासका क्रममा डुबेर बझाङ केदारस्युँ गाउँपालिका–७ खिकीरीका २९ वर्षीय सशस्त्र प्रहरी जवान नरेन्द्रसिंह धामीले ज्यान गुमाएका हुन्।सेतीमा डुबेपछि बेहोस अवस्थामा उद्धार गरिएका उनको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका अधिकारीसहित जवानले सेती नदीमा संयुक्त अभ्यास गरेर देखाउने तयारी थियो। उक्त अभ्यास हेर्न प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेल पनि पुगेका थिए। अभ्यास देखाउन विद्यालय र क्याम्पसका विद्यार्थी पनि ल्याइएको थियो। स्थानयी बासीसहित अभ्यास स्थलमा सयौँ जम्मा भएका थिए।

नदीमा डुबेका धामीलाई स्ट्रेक्चरमा राखेर निकाले। अभ्यास सुरु भएको केही बेरमै डुबेका धामीलाई तत्कालै निकाल्न नसक्दा उनको ज्यान गएको हो।

नदीबाट उद्धार गरेर निकाल्दा सशस्त्रका जवान धामी बेहोस अवस्थामा थिए भने उनको शरीर पनि पहेँलो देखिएको थियो। तत्कालै अस्पताल लगिए पनि उनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

धामी विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त सशस्त्रका जवान थिए। तर तालिमप्राप्त उनै कसरी डुबे भन्ने खुलेको छैन।