यस वर्षको मनसुन प्रणाली आजदेखि नेपाल भित्रिएको छ। कोशी प्रदेशको पूर्वी भू-भागबाट प्रणाली प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा सरदर जुन १३ मा मनसुन प्रवेश गर्ने भए पनि यसपालि तीन दिन छिटो आइपुगेको छ। नेपालको पूर्वी भेगबाट प्रवेश गरेको मनसुन बिस्तारै अन्य भू–भागतिर अगाडि बढ्ने छ।
गएको वर्ष एक दिन ढिला गरेर मनसुन नेपाल प्रवेश गरेको थियो। नेपालमा औसतमा जुन १३ मा शुरु भएर अक्टोबर २ सम्म सरदर एक सय १२ दिन मनसुन रहन्छ।
मनसुन भनेको हावा वहने दिशा परिवर्तन हुनु हो। मनसुन सामान्यतया एशिया र दक्षिणपूर्वी एशियामा सम्बन्धित छ। भारतीय उपमहाद्वीपमा हुने उच्च तापमानले बङ्गालको खाडीबाट मनसुनी हावा आउने गर्छ। हिन्द महासागरको पानी वाफ बनेर हावामा मिसिन्छ। वाफसहितको हावा भारत, नेपाल, श्रीलङ्का र बङ्गलादेशलगायतका देशतर्फ वहन्छ। तातो हावा चिसिएपछि पानी पार्छ। हिउँदयाममा फेरि हावाको दिशा परिवर्तन हुन्छ र मनसुन हिन्द महासागरतर्फ जान्छ।
मनसुन भन्ने बित्तिकै धेरै मानिसले भारी वर्षा भनेर सोच्ने गर्छन्। तर यो हावाको दिशा परिवर्तन मात्रै भएकाले मनसुनले सुक्खासमेत गराउन सक्छ। नेपालको सन्दर्भमा बङ्गालको खाडीबाट आउने हुँदा जलवाष्पयुक्त हावा धेरै हुन्छ। त्यसैले यहाँ चिसिएपछि बदली र वर्षाको सम्भावना धेरै हुन्छ।
नेपालमा कृषिका लागि मनसुन आवश्यक छ। कैयौँ ठाउँहरूमा सिँचाइको सुविधा उपलब्ध नहुँदा वर्षामै निर्भर हुनुपर्छ। धान, कोदोलगायतका खेतीसँगै बिजुली उत्पादनका लागि पनि मनसुनी वर्षा आवश्यक छ। मनसुन कमजोर र ढिला भित्रिँदा कृषि उत्पादन र अन्य आर्थिक गतिविधिमा ठूलो क्षति हुने गरेको छ । तर पछिल्लो समय मनसुन भन्नासाथ कृषि प्रणालीभन्दा पनि बाढी, पहिरोलगायतका प्रकोपको चिन्ता धेरै हुने गरेको छ। कुनै ठाउँमा एकै पटक धेरै पानी पर्ने, मनसुनको शुरुमै हिमालतिर पानी पर्ने लगायतका परिवर्तन र सडकलगायतका विकासका कामले बाढी, पहिरोको जोखिम बढाउँदा नेपालमा मनसुनको सम्बन्ध धेरै विपद्सँग देखिन थालेको हो।
जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म बढी पानी पर्ने अनुमान गरेको छ। पानी धेरै पर्ने अनुमानसँगै गृह मन्त्रालयले विपद्बाट हुने क्षति घटाउनेसहित उद्धार र राहतका लागि कमान्ड पोस्ट नै स्थापना गरेर काम शुरु गरेको छ।