मुगु सदरमुकाम गमगढीबाट चीनसँगको नाक्चेलाग्ना नाका जोड्ने सडक निर्माण सुरु भएको १० वर्ष बितिसक्दा पनि मुगुम कार्मारोङ गाउँपालिका सडक सञ्जालमा जोडिन सकेको छैन। ९३ किलोमिटर लामो सडकमा हालसम्म साढे १८ किलोमिटर मात्रै ट्र्याक खुलेको छ।

२०६२/६३ देखि सर्वेक्षण सुरु भएको सडकको निर्माण २०७२/७३ देखि अघि बढाइएको थियो। तर, कडा चट्टान, जोखिमपूर्ण भीर, बजेट तथा प्राविधिक व्यवस्थापनका चुनौतीले निर्माणले गति लिन सकेको छैन।

सडक नहुँदा स्थानीयवासी खाद्यान्न, औषधि र निर्माण सामग्री ढुवानी गर्न खच्चड तथा भरियामा निर्भर छन्। बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन कठिन हुनुका साथै स्थानीय कृषि उत्पादन र जडीबुटी बजारसम्म लैजान पनि समस्या भइरहेको छ।

सडक डिभिजन जुम्लाले २०८२ जेठ २२ गते जागृति–रारा तेन्जिङ–नोर्बु जेभीसँग १५ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। निर्माण अवधि २०८४ असार मसान्तसम्म तोकिएको छ। चालु आर्थिक वर्षमा सडकका लागि सरकारले ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

सडक निर्माण सम्पन्न भए मुगुम कार्मारोङका बस्तीलाई बजार, स्वास्थ्य सेवा र पर्यटनसँग जोड्नुका साथै चीनसँगको सीमावर्ती व्यापारको सम्भावना विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। तर, लामो समयदेखि सुस्त रहेको निर्माणलाई निर्धारित समयमै पूरा गर्न बजेटको प्रभावकारी कार्यान्वयन र नियमित अनुगमन आवश्यक देखिएको छ।