सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगीको मुद्दामा अनुसन्धानका लागि श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ परेको एसपी होबिन्द्र बोटगीले जानकारी दिए।
यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा १५ फागुन २०८० मा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी पक्राउ परेका थिए।
उनीहरुमाथि देउराली सहकारी र रवीन्द्र चौलागाईंका विभिन्न कम्पनीलाई कमसल धितोकै आधारमा बैंकबाट कर्जा प्रवाह गरी घोटाला गरेको आरोप छ।
उनीहरुले सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको सीआईबीले बताएको छ। उक्त ऋण धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी पाइएको सीआईबीको दाबी थियो।
उनीहरु १ चैतमा हाजिर जमानीमा छुटेका थिए। हाल सेञ्चुरी बैंक प्रभु बैंकमा गाभिइसकेको छ।