सप्तरीको कञ्चनरुप नगरपालिका-८ स्थित बेरियरमा रहेको एन्जिल्ला लजमा मंगलबार एकजना युवक मृत भेटिएको छ।

धनकुटाको महालक्ष्मी नगरपालिका १ खाप्रांगका करिब २८ वर्षका सुजन कार्की स्थानीय एन्जिल्ला लजको कोठा नम्बर-९ मा मृत भेटिएको हो।

सोमबार दिउँसो करिब ३ बजेको समयमा उक्त लजमा कार्की बस्न आएको लजका सञ्चालक दिल बहादुर शाही ठकुरीले बताए। लज संचालकले जानकारी गराउन साथ घटना स्थलमा पुग्दा कार्की पंखामा घाँटी पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीले जनाएको छ।

“सोमबार बेलुकाको खाना खान बोलाउँदा कार्कीले एक छिनमा आउँछु भनेपनि खान भने आएन्न मंगलबार बिहान चेक आउट गर्न जाँदा भित्रबाट कोठा बन्द थियो। पटक–पटक कोठा खोल्ने प्रयास गरेपनि भित्रबाट नखोलेपछि ईलाका प्रहरी कार्यालय कञ्चनपुरलाई जानकारी गराएँ।” “अनि प्रहरीले ढोका खोल्दा कार्की पंखामा झुन्डिएको अवस्थामा देखियो” उनले भने।

लासको सर्जिमिन मुचुल्का लगायतका कार्य स्थानीय जनप्रतिनिधिको रोहबरमा सम्पन्न गरि सकिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले जानकारी दिए।

उनले घटना बारे थप अनुसन्धान भइरहेको जानकारी दिए।