पछिल्लो एक सातामा कच्चा तेलको मूल्य औसत ८ प्रतिशतले घटेको छ। डब्लूटीआई कच्चा तेलको भाउ एक सातामा ८.३ प्रतिशत घटेको छ। जेठ १५ गते प्रतिब्यारेल ७९.८३ डलर मूल्य रहेकोमा बुधबार (बिहान १० बजे) ७३.२० डलरमा झरेको छ।
त्यस्तै ब्रेन्ट तेलको मूल्य सोही अवधिमा प्रतिब्यारेल ८३.९४ डलरबाट घटेर ७७.४९ मा कायम भएको छ। सो अवधिमा मुर्बान कच्चा तेलको भाउ प्रतिब्यारेल ८५.३ डलरबाट ७८.०३ डलरमा झरेको छ।
अमेरिकामा पेट्रोलियम मौज्दात बढ्दा त्यसले समग्र मूल्यमा प्रभाव पारेको सञ्चारमाध्यम आयलप्राइसले जनाएको छ। अमेरिकी ऊर्जा विभागको तथ्यांक अनुसार अमेरिकामा हाल मौज्दात तेलको परिमाण ३४ करोड ब्यारेल पुगेको छ, जुन परिमाण मे ३१ यताकै उच्च हो।
अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य गिरावटले नेपालमा पनि असर पार्दछ। कच्चा तेलको मूल्य घट्दा भारतीय आयल कर्पोरेसनले नेपाललाई दिने तेलको मूल्य पनि घट्न जान्छ। परिवर्तन भएको मूल्यअनुसार नेपाल आयल निगमले १५–१५ दिनमा नयाँ मूल्य तय गर्दै आएको छ।