बागमती प्रदेशसभाको बैठक आज बस्दैछ। आज अपराह्न ३ बजे बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।
बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ। संसद्मा पेस भएको उक्त सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो।
उहाँका अनुसार बैठकमा विशेष समयको व्यवस्थासमेत रहेको र उक्त समयमा प्रदेशसभा सदस्यहरुले धारणा राख्नुहुनेछ। प्रदेशसभा बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ। सो बैठकले संसद्को कार्यसूचीलाई अन्तिम रुप दिनेछ।
सोमबारदेखि सुरु भएको प्रदेशसभाको चौथो अधिवेशन बैठकमा दलगत रुपमा प्रदेशसभा सदस्यहरुले शुभकामना राख्नुभएको थियो भने प्रदेश उच्च शिक्षा ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरिएको थियो। संसद्मा पेस भएको सो अध्यादेश ६० दिनभित्र प्रतिस्थापन विधेयकसहित पारित गर्नुपर्ने व्यवस्था रहेको छ।
प्रदेश सरकारको गत वैशाख २३ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही वैशाख २३ गते सो अध्यादेश जारी गर्नुभएको थियो।