झापाको बिर्तामोडमा कारको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ।
गतराति १०ः३० बजेको समयमा बिर्तामोडको मुक्तिचोकमा चारपानेबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र.१००१-००२ च १९० नम्बरको कारले पैदलयात्री मेचीनगर नगरपालिका वडा नं. १२ बस्ने गोपाल रोकाका ११ वर्षीय छोरा सन्तोष रोकालाई ठक्कर दिएको थियो।
टाउको र दुबै हात खुट्टामा चोट लागेर गम्भीर घाईते भएका बालकलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनापछि कार चालक मेचीनगर नगरपालिका वडा नं.१ बस्ने २६ वर्षीय रोनस परियारलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।