बेलबारी : मोरङको बेलबारी नगरपालिका १ स्थित सांस्कृतिक भवनमा चलचित्र निर्देशक तथा कवि उपेन्द्र सुब्बाको एकल कविता वाचन कार्यक्रम हुने भएको छ । स्रष्टा समाज बेलबारीको आयोजना तथा लेट्स इन्टरटेन्मेन्टको व्यवस्थापनमा वैशाख १५ गते हुन गइरहेको कविता वाचन कार्यक्रमलाई सिर्जना घर बेलबारीले संयोजन गरेको सो संस्थाका संयोजक विकास बुढाथोकीले जानकारी दिए । उनका अनुसार आगामी वैशाख २१ गते प्रदर्शनमा आउन लागेको कवि तथा निर्देशक सुब्बाद्वारा निर्देशित तथा नायक दयाहाङ राईद्वारा अभिनित चलचित्र ‘मनसरा’ को प्रचारप्रसारका क्रममा चलचित्रकै निर्माण टिमलाई लिएर पूर्वी नेपालका जिल्लाहरूको भ्रमणमा आउन लागेका सुब्बालाई कविता वाचनमा सहभागी गराउन लागिएको हो । भ्रमण टोलीमा चलचित्रका कलाकारहरू प्रवीण खतिवडा, मिरुना मगर, मेनुका प्रधानलगायत अन्य थुप्रै कलाकारको उपस्थिति रहनेछ ।  सोही क्रममा कलाकार प्रवीण खतिवडाले पनि आफ्ना केही कविता सुनाउनेछन् । चलचित्र ‘मनसरा’ कै प्रचारप्रसारमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रममा प्रवेश निःशुल्क गरिएको आयोजक स्रष्टा समाज बेलबारीका अध्यक्ष जे.बी थुलुङ बताउँछन् । बिहान ११ः३० बजे सुरु हुने कार्यक्रम दिनको एक बजेसम्म चल्ने आयोजक संस्थाले जनाएको छ । कार्यक्रम किवानिस क्लब अफ बेलबारी, बेलबारी जेसिस, बेलबारी जुनियर जेसिसलगायत विभिन्न सङ्घसंस्थाको सहकार्यमा सम्पन्न हुनेछ ।