सुनसरीको भुटाहामा दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ।

हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको हो। प्रहरीले ११ राउण्ड अश्रूग्यास पनि प्रहार गरेको छ।

दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलले दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा ६ राउण्ड हवाइ फायर गरेको बताए।

उनका अनुसार दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएका छन्। घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको छ।