नेपाल प्रहरी श्रीमती सङ्घले सन्धिखर्कमा रहेको बाल आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।

नेपाल प्रहरी श्रीमती सङ्घले विभिन्न रचनात्मक तथा समाजसेवी काम गर्दै आएको र सोहीअन्तर्गत शैक्षिक सामग्री वितरण गरिएको श्रीमती सङ्घकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले बताउनुभयो । आफैँले अध्ययन गरेको विद्यालयमा विद्यार्थीलाई सामग्री वितरण गर्दा अत्यन्तै खुसी लागेको उहाँको भनाइ छ । 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र प्रहरी श्रीमती सङ्घकी अध्यक्ष लक्ष्मीले अक्षराम्भ गरेको सन्धिखर्क–१ मा रहेको बाल आधारभूत विद्यालयमा अध्ययनरत छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

शैक्षिक सामग्री वितरण कार्यक्रमले विद्यालयमा सहयोग पुगेको बताउँदै अन्य भौतिक संरचना निर्माणको काममा सहयोग गर्न विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद खनालले आग्रह गर्नुभयो।

शैक्षिक सामग्री वितरण कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घ लुम्बिनी प्रदेश अध्यक्ष निलम कडायत, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौर, जिल्ला शिक्षा विकास समन्वय एकाइका प्रमुख मणिराम पराजुली, वडासदस्य भगवती पाण्डे, श्रीमती सङ्घकी प्रदेश सचिव सरिता पराजुली अधिकारी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष अशोक खनाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बस्याल, समाजसेवी लक्ष्मण पराजुलीलगायतको उपस्थिति थियो।