प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
इलाम बजारस्थित बार एशोसिएसनको भवनमा स्थापना भएको सो कार्यालयको निर्वाचन आयुक्त डा जानकी तुलाधरले आज उद्घाटन गर्नुभएको हो। कार्यालय स्थापनाका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन आयुक्त डा तुलाधरले स्वच्छ, स्वतन्त्र र विश्वसनीय ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सबै पक्षले सहयोग गर्नुपर्ने बताउनुभयो।
त्यस अवसरमा इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले इलाममा निर्वाचन सम्पन्न गर्न सुरक्षाका हिसाबले कुनै चुनौती नरहेको बताउनुभयो। उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ। यहाँको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २० राजनीतिक दल दर्ता भएका छन्।




















