बेलबारी : मोरङको बेलबारी नगरपालिका-१०, नारायण चौकस्थित झलझली बचत तथा ऋण सहकारी संस्थाको कार्यालयबाट नगद चोरी भएको छ ।
अज्ञात व्यक्तिले सहकारीको ढोका तोडफोड गरी सेफको ताला तोडेर त्यहाँ रहेको ३२ हजार पाँच सय रुपियाँ चोरी गरेको पाइएको सहकारीका सचिव नारायण भट्टराईले जानकारी दिए । उनका अनुसार खुद्रा कारोबारका लागि राखिएका १० र २० रुपियाँ दरका नोटहरू चोरी भएको हो।
सहकारी संस्थाका कार्यालयमा लगातार चोरीका घटना दोहोरिन थालेपछि ठूलो रकम सहकारीमा नराख्न जिल्ला सहकारी सञ्जालले सबै सहकारी संस्थालाई निर्देशन दिएको बताउँदै उनले सोहीबमोजिम सहकारीले ठूलो रकम ठूला बैँकमा जम्मा गरिदिने गरेको उल्लेख गरे। खुद्रा नोट भने बैँकले लिन नमानेकाले सहकारीकै सेफमा राखिएकोमा चोरी हुन पुगेको उनको भनाइ छ ।
एक हप्ताअघि बेलबारीकै लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा पनि चोरी भएको थियो । सो कार्यालयबाट भने पैसा नभई सीसी टीभीको रेकर्ड उपकरण चोरी भएको थियो। निरन्तर सहकारी संस्थामा चोरीका घटना बढिरहेको बारे सहकारी सञ्जालले इलाका प्रहरी कार्यालय बेलबारीसँग सुरक्षा व्यवस्थाबारे छलफल गरेको पनि झलझली सहकारीका सचिव भट्टराईले जानकारी दिए । यसैगरी, यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालको पनि ध्यानाकर्षण गराउने योजना रहेको उनले उल्लेख गरे ।




















