मोरङको पथरीशनिश्चरेमा बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हत्यामा संलग्न रहेको आशंकामा मोरङको ग्रामथान गाउँपालिका-४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरिएको हो। बालिकाको हत्यापछि फरार रहेका उनलाई बेलबारीस्थित भाउन्नेको जंगलबाट पक्राउ गरेको प्रहरीको भनाइ छ।
खोटाङको ऐंसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी १५ वर्षीया ज्ञानमती थुलुङ राईको सोमबार राति निर्मम हत्या गरिएको थियो।
ज्ञानमती पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित मामाको छोरा (दाजु) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएकी थिइन्। सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०ः३० बजे उनको हत्या भएको थियो।
अनुसन्धान र हत्यामा संलग्नलाई पक्राउ गर्न मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफैं फिल्डमा खटिएका थिए। प्रहरीले घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको थियो।
डीएसपी दाहालले मिहिन ढंगले विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको बताए। प्रहरीले घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिसकेको छ।
डीएसपी दाहालले पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा अनुसन्धान गर्न थप सहज हुने बताए। उनका अनुसार घटनास्थलबाट संकलन गरिएको सबुत प्रमाण लगायतलाई केलाएर अनुसन्धान अघि बढाइएको छ।