राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा न.-३ पोखरीबजारस्थित २८७ औँ शाखा कार्यालय पोखरीबजार विस्तार गरी कारोबार शुभारम्भ गरिएको छ। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले आइतबार विधिवत् रूपमा उक्त शाखाको समुद्घाटन गरेका हुन् ।

उक्त अवसरमा न्यायाधीश हरिप्रसाद फुयाँलले बैंकहरुले आम जनताप्रति संवेदनशील भई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्नुपर्ने र ग्राहकहरूले पनि बैंकिङ्ग अनुशासन भित्र रही बैंकिङ्ग कारोबार गर्नुपर्ने बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताउँदै बैंकको वर्तमान अवस्थाको बारेमा प्रकाश पारेका थिए। शाखा कार्यालय पोखरीबजारको समुद्घाटन पूर्व वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ।