काठमाडौं त्रिवि क्रिकेट मैदानमा जारी पहिलो त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला विश्वकप लिग–२ क्रिकेटअन्तर्गतको खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ।

त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले केवल १६९ रनको लक्ष्य दिएको थियो। नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। नामिबियाका लागि कप्तान जेर्हार्ड इरासमसले ५२ रनको योगदान दिए।

त्यस्तै, माइकल भान लिंगेनले ३१ र जेजे स्मितले अविजित ३४ रन बनाए। नेपालका लागि कुशल भुर्तेलले तीन तथा ललित राजवंशी, रोहित पौडेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १- विकेट लिए। जारी शृंखलामा नेपालले नामिबियासँगका दुबै खेल हारेको हो।

नेपालले शृंखलाको आफ्नो अन्तिम खेलमा अब नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने छ । पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन जोड्यो। नेपालका लागि आसिफ शेख ५८, कुशल मल्ल ३६, भीम सार्की २६ , कुशल भुर्तेल १८ र करण केसी १२ रन जोडेर आउट भए।